काठमाडौं । नेकपा एमालेले निर्वाचन नजिकिदै जाँदा सरकारले विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा त्रास सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले तराई–मधेशका केहि स्थानमा निषेधाज्ञा र कर्फ्यू जारी हुँदा मतदातामा भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।
शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यु लगाउने कामले क्षणिक सुरक्षाको अनुभूति भएपनि मतदाताको मनमा डर,त्रासको सिर्जना गरेको एमालेको ठहर छ । भयरहित निर्वाचनका लागि सरकारलाई पुनः शान्ति सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बताए।
त्यस्तै अहिले निर्वाचन सार्ने हल्ला चलेको प्रति ध्यानाकर्षण भएको भन्दै कुनै पनि बहानामा निर्वाचन नसारी घोषित मितिमा नै निर्वाचन हुनुपर्नेमा एमालेको दृढ अडान रहेको शाहीले उल्लेख गरे।


