काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि आजसम्म तीन हजार ५०० भन्दाबढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गरी यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत सङ्कलन तथा विश्लेषण गरिरहेको जानकारी गराएको हो । सरोकार भएका निकाय, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा उक्त मस्यौदा प्रकाशन गरेको थियो ।
विधेयकलाई थप प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा सङ्कलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले त्यसका लागि प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरी अध्ययन विश्लेषणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ


