काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ।
मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले एक परिपत्र जारी गर्दै आगामी दिनमा हुने सबै प्रकारका औपचारिक कार्यक्रमहरू सरकारी संरचनाभित्रै सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको हो ।
मन्त्रालयले जारी गरेको पत्रअनुसार अबदेखि मन्त्रालय मातहतका विभाग, आयोग, प्राधिकरण, प्रशिक्षण केन्द्र तथा अन्य कार्यालयहरूले आयोजना गर्ने बैठक, गोष्ठी, तालिम र सेमिनारहरू महँगा होटल वा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् ।
यसको सट्टा सम्बन्धित निकायले आफ्नै कार्यालय परिसर वा अन्य सरकारी स्वामित्वमा रहेका भवनका सभा कक्ष र तालिम कक्षहरू प्रयोग गर्नुपर्नेछ ।


