काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले यस्तो आदेश दिएको हो।
पुर्पक्षका लागि सोमबार अदालतमा उपस्थित भएका गौतमलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले कारागार चलान गर्न आदेश दिएको अदालतले जनाएको छ।
उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले ईन्जिनियरिङ खरिद निर्माण सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी अस्वाभाविक रुपमा लागत बढाई प्राधिकरणको छुट्टै बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको आरोप छ।


