काठमाडौं । बाह्रबिसे नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले सार्वजनिक बिदाको दिन र कार्यालयमा हाजिर रहेको दिनमा समेत भ्रमण भत्ता लिएका छन् ।
महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रतिवेदन अनुसार उनले तिहारको भाइटिकाको दिन र कार्यालयमा हाजिर गरेको दिन पनि भ्रमण आदेश स्वीकृति गरी २० हजार २ सय ५० भ्रमण भत्ता बुझेका हुन् ।
उनले २०८१ कात्तिक १४ गतेदेखि १६ सम्मको ४ हजार ५० भत्ता बुझेका छन् । उनले भ्रमण भत्ता बुझेको मितिमा तिहारको लक्ष्मीपूजा र भाइटिकाको सार्वजनिक बिदा रहेको थियो । यतिमात्रै होइन उनले पटक- पटक कार्यालयमा हाजिर गरेको दिनमा समेत भ्रमण आदेश स्वीकृत गरेर भत्ता बुझेका छन् ।
उनले २०८१ कात्तिक १४ देखि १६ मा कार्यालयमा हाजिर गरेका छन् भने ३ दिनको प्रतिदिन १३५० का दरले ४०५० रकम भुक्तानी पनि लिएका छन् । त्यसलगत्तै उनले फेरि माघ ४ गतेदेखि ६ गतेसम्म भ्रमण भनेर रु ४ हजार ५० लिएका मितिमा पनि कार्यालयमै हाजिर छन् ।

महालेखाले भ्रमण खर्च नियमावली २०६४ को उपदफा १ बमोजिम सरकारी कामको सिलसिलामा देशभित्रै आफ्नो कार्यालयभन्दा बाहिर भ्रमणमा वा काजमा खटिएका कर्मचारीले मात्र दैनिक भ्रमण भत्ता पाउने ब्यवस्था रहेकोले उक्त रकम उनीबाट असुल गर्नुपर्ने ठहर गरेको छ ।
यति मात्रै होइन उनले नगरपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्तामा नियमानुसार १५ प्रतिशत कर कट्टा गर्नुपर्नेमा जम्मा १ प्रतिशत मात्रै कर तिरेकोप्रति पनि महालेखाले प्रश्न गरेको छ । उनले प्रोत्साहन भत्ता बापत भुक्तानी लिएको ३ लाख १४ हजार ८ सय ४४ को १५ प्रतिशतका दरले हुने आउने रकम ४४ हजार ८८ पैसा सघीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेमा १ प्रतिशतका दरले हुने आउने रु ३१ सय ४८ मात्रै कर कट्टी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आयकर ऐन २०५८ को दफा ८८ मा सेवा शुल्क र अन्य कुनै पनि प्रतिफल प्राप्त गर्दा कुल भुक्तानी रकमको १५ प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने स्पष्ट प्रावधान गरेको भन्दै महालेखाले बाँकी रकम यथासिघ्र जम्मा गरेर प्रमाण पेश गर्न भनेको छ । नगरपालिकाले वडा नम्बर ९ मा लगाएको ठेक्कामा समेत उनको संलग्नता रहेको हल्ला चलेको थियो ।
सडक ढलान गर्ने उक्त ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने फर्मलाई सबैको मिलोमतोमा कालोसूचीमा राखेर अरुलाई दिइएको चर्चा चलेको थियो । शर्मासँग कुरा गर्दा यस विषयमा आफूलाई केही थाहा नभएको प्रतिकृया दिए । बागलुङका शर्मा स्थानीय पालिकामा धेरै बस्ने कर्मचारीका रुपमा चिनिन्छन् ।
२०८१ बैशाख २६ गतेदेखि २०८२ साउनसम्म करिब १५ महिना बाह्रबिसेमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उनी गत भदौ १६ गतेदेखि गृहजिल्लाकै बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । त्यसअधि २०८० जेठदेखि २०८१ बैशाख २४ गतेसम्म काभ्रेको नमोबुद्ध नगरपालिकामा थिए ।


