काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीवरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। त्यसक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट यादवले सडक ढलान योजना सञ्चालनका लागि सम्झौता भई सम्झौताअनुसारको काम सम्पन्न भइसकेपछि भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।



