काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षको भन्सार राजस्व लक्ष्य पुरा गर्ने शर्तसहित दोस्रोपटक भन्सार विभागको महानिर्देशक बनाएर पठाएका यमलाल भूसालले सरुवा भएका एक भन्सार अधिकृतलाई समेत उक्त कार्यालयमा पठाउन सकेका छैनन् ।
भूसालले सरुवा भएको भन्सार कार्यालयमा पठाउन नसकेका भन्सार अधिकृत हुन् मधु खनाल । गत भदौ ११ गते रसुवा भन्सारमा सरुवा भएका खनाललाई विभागले विद्युतीय सवारीसाधन (ईभी) जाँचपासमा अनियमितिता गरेको भन्दै जेठको तेस्रो हप्ता विभाग तानेर दार्चुला भन्सार कार्यालयमा सरुवा गरेको थियो ।
यसरी डिजीलाई नै चुनौति दिनसक्ने अधिकृत खनाल पनि सामान्य कर्मचारी होइनन् नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको अर्थ मन्त्रालय विभागीय कार्यसमितिका उपाध्यक्ष भइसकेका ब्यक्ति हुन् । संगठनका हर्ताकर्ता मानिएका खनाल एमालेको नेता अर्थमन्त्री भएको समयमा त कुन भन्सार कार्यालयमा कसलाई सरुवा गर्ने भन्ने लिस्ट नै डिजीलाई दिने गर्थे भन्ने चर्चा त्यतिबेलै अर्थ मन्त्रालयतिर चलेको थियो ।
जिल्ला हुलाक कार्यालय दोलखाबाट सरकारी सेवा सुरु गरेका उनले केही समय नुवाकोटमा गाविस सचिव भएका थिए । त्यसपछि उनले राजस्व समूहको नायव सुब्बामा नाम निकालेका हुन् । राजस्व सुब्बामा नियुक्ति हुनेबित्तिकै खनाल बीरगञ्ज भन्सारमा सरुवा भएका थिए । भन्सार विभागमा सामान्यता २ वर्षमा सरुवा हुने प्रचलन रहेता पनि उनी करिब ३ वर्ष बीरगञ्ज भन्सारमा बसे । खनालको विभागबाट २०७२ सालमा भैरहवा भन्सार कार्यालयमा सरुवा भएको थियो । भैरहवामा कार्यरत हुँदा उनलाई बुटबलकै एक भन्सार एजेन्टसँगको मिलोमतोमा भन्सार छली गर्नमा सहयोग गरेको आरोपसमेत लागेको थियो ।
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले आफूनिकट मानिएका उपसचिव भुपालराज शाक्यलाई भैरहवा भन्सार प्रमुख बनाएपछि केही समय नोकझोक भए पनि पछि खनाल शाक्यको विश्वासपात्र बनेर अन्य कर्मचारीलाई दबाबमा राखेको स्रोतले उल्लेख गरेको छ । यतिमात्रै होइन उक्त नाकाबाट आयात निर्यात गर्ने ब्यवसायीहरुलाई समेत हाकिमको आदेश भन्दै अनाबश्यक दुःख हैरानी दिने गरेको हल्ला थियो ।
२०७८ भदौमा अधिकृतमा बढुवा भएपछि खनाल पुनः बीरगञ्ज भन्सार गए । त्यहाँ २ वर्ष बसेर उनी भन्सार विभागमै फर्किए । भन्सार विभागमा बस्दा पनि उनी सबैभन्दा आकर्षक शाखा मानिएको भन्सार मूल्यांकन शाखामा बसे । उक्त शाखामा बस्दा देशभरका भन्सार कार्यालयहरुमा प्रत्यक्ष सम्पर्क रहन्छ । आयात/निर्यात हुने मालवस्तुको भन्सार दर कायम गर्ने भएकाले पावर/पहुँच भएकाले कर्मचारीले मात्रै यस शाखामा बस्न पाउने बताइन्छ । त्यसपछि खनाल गत भदौंमा रसुवा भन्सारमा सरुवा भएका थिए ।
कर्मचारी संगठन खारेज नहुँदासम्म कसैले छुन नसक्ने उनलाई इभी गाडी जाँचपासमा अनियमितता गरेको आरोप लगाउँदै विभागले तानेको थियो । विभागले छानबिन समिति नै बनाएर अनुसन्धान गर्दा गाडी भन्सार यार्डमा नल्याई कागजपत्रको आधारमा जाँचपास गरेर आर्थिक घोटाला गरेको देखिएको भन्दै भन्सार प्रमुखसहित १३ जनालाई निलम्बन नै गरेको थियो । स्रोतका अनुसार उनलाई निलम्बनमा नगरे पनि कारबाही स्वरुप दार्चुला जस्तो दुर्गम कार्यालयमा सरुवा गरेको हो । दार्चुला भन्सारमा हाल निमित्त प्रमुखको रुपमा नायव सुब्बा कार्यरत छन् । उनले अहिले झोकेपोके र तस्करीको समस्या रहेको बताउँदै प्रमुख नहुँदा धेरै कुराको असहज भएको बताए । यस विषयमा महानिर्देशक भूसालसँग कुरा गर्दा आफूले पहिलै नै जान निर्देशन दिइसकेको बताए ।


