काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए। उनले हङकङका याशिम मुर्तजा, जिशन अली र नशरुल्लाह रानालाई आउट गरे।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। उनले खेलको अन्तिम ओभरमा २ जनालाई आउट गरेका हुन्। ऐरीले हङकङका कप्तान मोहम्मद निजाकत खानलाई रनआउट समेत गरे।
हङकङका ब्याट्सम्यान अन्शुमन राठले ३४ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको थियो। खेल १८–१८ ओभर खेलाइएको छ।


