काठमाडौं। रुपन्देहीको रोहिणीमा इन्धन भण्डारण गृह निर्माणका लागि नेपाल आयल निगमले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त गरेको छ।
काठमाडौं विश्वविद्यालय अन्तर्गतको कन्सल्टेन्सी सेवा विभागले निर्माण गरेको डीपीआर बुधबार निगमको सिनामंगलस्थित कार्यालय प्रमुख प्रदिप यादवलाई हस्तान्तरण गरेको हो। डीपीआरअनुसार डिपोलगायत संरचना निर्माणका लागि ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार ९ सय ४१ रुपैयाँ लागत लाग्ने छ।
उक्त लागतमा पूर्णरुपले अटोमेसनमा आधारित डिपो निर्माणका लागि जग्गा विकास गरिने, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृहलगायत पूर्वाधार निर्माण हुने छन्।
इन्धन भण्डारणका लागि ४५ सय किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांक, पेट्रोल भण्डारणका लागि २१ सय किलोलिटर क्षमताको २ वटा र ७६० किलोलिटर क्षमताको एउटा भर्टिकल ट्यांक निर्माण गरिनेछ। साथै ७६ किलोलिटर क्षमताका ३ वटा मट्टितेलका भर्टिकल ट्यांक निर्माण गरिनेछ।
निगमका सिनामंगल डिपो एवं इन्धन भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदिप यादवले असोजमा टेण्डर आह्वान गरी डिपोलगायत संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइने बताए।


