काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल यही १० गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएसँगै निजामती सेवाको सर्वोच्च पदमा कसले बाजी मार्ला भन्ने प्रशासनयन्त्रमा अहिले निकै चर्चा र चासोको विषय बनेको छ ।
अहिले बरियताको लाइनमा सचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्कर कर्ण छन् । पहिलो बरियतामा रहेका दुवाडी पनि मुख्यसचिवसँगै सेवा अवधिको कारण अनिवार्य अवकाशमा जाने भएकाले उनको सम्भावना देखिदैन ।
त्यसपछि मुख्यसचिवको पहिलो बरियतामा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल रहेका छन् । अर्याल तथ्याङ्क सेवाका कर्मचारी हुन् । २०७७ माघ १९ गते सचिवमा बढुवा भएका उनको कार्यकाल पनि करिब ८ महिनामात्रै रहेको छ । अर्यालले सचिव भएपछि हालसम्म कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका छन् ।
त्यस्तै हाल खानेपानी मन्त्रालयमा सचिव रहेकी बज्राचार्य दोस्रो बरियतामा छिन् । बज्राचार्य ०७८ असार १७ गते प्राविधिकतर्फको सचिवमा बढुवा भएकी हुन् । सचिव भएपछि उनले हालसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालयमा काम गरिसकेकी छिन् । प्राविधिक तर्फको भएकाले उनले प्रशासनको कमाण्ड गर्न सहज नहुने कतिपयको बुझाइ छ ।
त्यसैगरी, २०७८ असार २४ मा सचिव बनेका राष्ट्रिय तथ्यांक कार्यालयका मधुसुधन बुर्लाकोटी पनि मुख्यसचिवका प्रबल दावेदार हुन्। बुर्लाकोटीले सार्वजनिक खरिद अनुगमन कार्यालय, उपराष्ट्रपतिको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा काम गरेका छन् । उनको कार्यकाल आगामी भदौसम्म रहेको छ ।
यस्तै मुख्य सचिवका अर्का प्रत्यासी हुन् हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर । पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए । पुष्कर सचिव बढुवा भएपछि अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कमाण्ड गरिसकेका छन् ।
बरियतामा जो अगाडि भए पनि कसलाई मुख्यसचिव बनाउने सरकारको अधिकार कुरा हो । यसअघि पनि बरियतालाई मात्रै नहेरेर कार्यक्षमतालाई आधार बनाएर मुख्यसचिव बनाएका धेरै उदाहरण छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले केही समयअघि प्रहरी प्रमुख नियुक्त गर्दा बरियतालाई आधार बनाएकाले मुख्यसचिव बनाउँदा पनि यसैलाई प्रमुख आधार बनाउने आँकलन गरिएको छ ।
