काठमाडौं । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित लेखा अधिकृत,फार्मेसी सुपरभाइजर, रेफ्रिजेरेटर टेक्निशियन,इञ्जिनियरसहित सात जनालाई प्रतिवादी बनाएर विशेष मुद्धा लगेको हो ।
आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
आरोपपत्र अनुसार, केन्द्रका तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठमाथि जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ ।


