काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी सेवा हत्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगको अनुसन्धानले मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटना को नाममा जाली लब्धांक पत्र तयार गरी आफू हाईस्कुल तह प्रथम श्रेणीमा पास भएको दाबी गरेको र मडैया बलुवा उच्च विद्यालय को नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ पेस गरेको तथ्य खुलेको छ।
यही जाली कागजातलाई आधार बनाएर मण्डलले २०५३ साउन १ गते जिल्ला विकास समिति कार्यालय, सुनसरीमा सहायक सब–ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए। पछि २०६७ माघ ७ गते उनी सहायक इन्जिनियरमा बढुवा भएका थिए।


