काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन्।
उनले मंगलबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् ।
उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए। उनकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ।
समिति सभापति रहबर अन्सारीले भारतबाट ग्यास पर्याप्त आइरहँदा पनि अभाव भइरहेको देखिएकाले सिलिन्डर म्यापिङ गर्न निर्देशन दिए । उनले जिम्मेवारीमा बसेर सहज रूपमा उपभोक्तालाई सेवा दिन नसके मार्गप्रशस्त गर्न सुझाव समेत दिए ।


