काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन्।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन्।
सन्दीपले १२ ओभरको तेस्रो बलमा साफिकलाई पेवेलियनको बाटो देखाएका थिए। साफिक ३३ बलमा १३ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा परेका हुन्।
योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन्।


