काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले सबै एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्न पार्टी पंतीलाई निर्देशन दिएका छन्।
स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले दृढताका साथ चुनावमा लाग्न निर्देशन दिएका हुन्।
ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान आग्रह गरे। एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिनुपर्ने ओलीको भनाइ थियो।
कांग्रेस, माओवादी, समाजवादी, जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन्। उनीहरुले एमालेलाई पराजित गर्न तालमेल गर्ने औपचारिक निर्णय गरेर मोडालिटीका बारेमा छलफल गरेका छन्। भुर्चुअल कार्यक्रममा पार्टीका स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी, जिल्ला कमिटीका पदधिकारीहरू, पार्टीका स्थानीय तहका नेताहरु र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी भएका थिए।