काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई रोक्नुपर्ने बताएका छन्
दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार फतुवा विजयपुर नगरपालिका ३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै नेता साहले सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने भन्दै सचेत गराएका हुन ।
कम्युनिष्टको खोल ओढेका माधव र प्रचण्डहरुले जनतासँग गद्दारी गर्दा प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेर एमसीसी पास गर्ने गरेको षडयन्त्र जनताले रोक्नुपर्ने नेता साहको आह्वान छ ।
‘तपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्व पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु सामु नत्मस्तक छ । कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्डहरु पनि र उपेन्द्र यादव एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्’ नेता साहले भने, ‘देशलाई द्वन्द्वमा फसाउने यो राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा रोक्नुपर्छ । यसका लागि सम्पूर्ण देशभक्त जनता एकताबद्ध हुनुपर्छ । हामी राष्ट्रियता जोगाउन, मुलुकको अस्मिता जोगाउन सधै अग्रमोर्चामा छौँ र रहन्छौ ।