काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस कार्यकर्ताहरुले चुनावमा तालमेल गर्नु हुँदैन भन्दाभन्दै केन्द्रले दबाव दिनु उचित नहुने बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय चुनाव भएकाले स्थानीय नेता कार्यकर्ताको भावनाबमोजिम अघि बढ्नुको विकल्प नभएको समेत बताए । महामन्त्री थापाले आफूले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले स्थानीय निर्वाचनमा तालमेल नगर्न आफूलाई दबाब दिएको समेत उल्लेख गरे ।
उनले स्थानीय तहले नै तालमेल नगरौँ भनेपछि केन्द्रबाट लादेर हुने गठबन्धनले नतिजामा फरक पर्न सक्नेतर्फ नेताहरुले ध्यान दिनुपर्ने बताए ।
उनले तालमेल गर्ने वा नगर्ने भन्ने निर्णयको अधिकार तल्ला तहलाई नै भएकाले दुई दिनभित्र उम्मेदवारको टुंगो लगाएर मतदाताका माझमा जान आग्रह गरे ।


