कोभिड–१९ को संक्रमण बढेसँगै चीनको शियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या रहेको यो सहरमा मानिसहरुलाई घरमा नै बस्न निर्देशन दिइएको छ।
शान्शी प्रान्तस्थित शियानमा ९ डिसेम्बरयता १४३ जना मानिसमा कोभिड–१९ को संक्रमण देखिएको छ। सहरमा बुधबार लगाइएको नयाँ प्रतिबन्धअनुसार प्रत्येक घरको एकजना मानिसलाई पनि अत्यावश्यक सामग्री खरिद गर्न बाहिर जाने अनुमति दिइनेछ।
चीनले कोरोना संक्रमण शून्यमा राख्ने रणनीतिअनुसार ठूलो संख्यामा परीक्षण गर्ने र लकडाउन गर्ने नीति लिँदै आएको छ। आगामी फेब्रुअरीमा चीनमा विन्टर ओलम्पिक पनि आयोजना हुन गइरहेकाले सतर्कता झनै बढाइएको छ।
शियानमा अहिले लगाइएको लकडाउन अनुसार अब अत्यावश्यक कारण विना सहरबाट बाहिर जान पनि दिइने छैन। अत्यावश्यकबाहेकको सबै सामग्रीको व्यापारमा रोक लगाइएको छ। सबै सरकारी कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ।