काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई एमाले एक्लैले हैसियत देखाइदिने दावी गरेका छन् ।
उनले मंगलबार पर्साको वीरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जतिवटा दलको गठबन्धन बनाएर आए पनि एमाले जनमतबाटै सरकारमा फर्किने दाबी गरे ।
ओलीले वार्तमा सरकार जनमतबाट नभइ परमादेशबाट आएकाले यसको वैधता नरहेको बताए । उनले दुनियाँमा कहिँ पनि नभएको अदालतबाट प्रधानमन्त्री छान्ने काम नेपालमा भएको टिप्पणी गरे । कार्यक्रममा बहादुरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुखहरू कांग्रेस र जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए ।