बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले नगर क्षेत्रमा एउटा बहु प्राविधिक विद्यालयको स्थापना गर्ने नीतिगत निर्णय गरेको छ । नवनिर्वाचित मेयर बालकृष्ण बस्नेतले पदभार ग्रहण लगत्तै यस्तो निर्णय गरेका हुन् ।
नगरपालिकाले नगरभित्र कार्यरत बालबिकास सहजकर्ता, शिक्षक, तथा विद्यालयमा कार्यरत कर्मचारीहरुलाई समसामयिक न्यूनतम पारिश्रमिक उपलब्ध गराउने एवं दीर्घरोगी तथा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
यसका साथै सामुदायिक विद्यालयको आधारभूत तह ( कक्षा १ देखि ८) मा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजाको ब्यबस्था गर्ने, नगरपालिकाले एउटा दमकल ब्यवस्थापन गर्नुका साथै बाह्रबिसे नगरपालिकामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी क्षेत्रीय अस्पाताल निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै नगरको भौगालिक अवस्था हेरेर मौसम सुहाउँदो कृषि तथा पशुपन्छी सम्बन्धी पकेट क्षेत्र स्थापना गरेर भण्डारण, प्रशोधन र बजार ब्यबस्थापन गरी स्वरोजगारमूलक र आत्मनिर्भरता नगरपालिका बनाउने निर्णय भएको छ ।
![](https://www.newssawal.com/wp-content/uploads/2022/05/283482064_5250662145022708_1745164584043161533_n.jpg)