काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोकर्णेश्वर महिला महासंघ गठन गरिएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२२ तथा तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको उपलक्ष्यमा यो महासंघको उद्घाटन गरिएको हो ।
नगरपालिकाभित्र रहेका झण्डै ५ सय वटा महिलाका संघसंस्थाको साझा संस्थाका रुपमा महासंघ स्थापना गरिएको महासंघकी अध्यक्ष रेखा अर्यालले जनाइन् । महासंघले १३ जनाको कार्यसमिति बनाएको छ । नगरपालिकाका प्रमुख सन्तोष चालिसेले महासंघको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि चालिसेले नगरपालिकाको सक्रियतामा नै महासंघ स्थापना भएको बताए । उनले महासंघमा छुटेका अरु महिला संघसंस्थालाई पनि आगामी दिनमा समावेश गरिँदै लैजाने स्पष्ट पारे । ‘यहाँ यो महासंघ स्थापना भएपछि केही गुनासो पनि आएको सुनियो, कसैले पनि गुनासो नगर्ने वातावरण सिर्जना गर्छौं’ प्रमुख चालिसेले भने ‘अलग अलग रुपमा काम गर्दा महिला समूहलाई पनि गाह्रो हुने भएकाले एकढिक्का बनाइएको हो, अब महासंघले सबैको नेतृत्व गरेर जान्छ ।’ प्रमुख चालिसेले हिजोको दिनमा महिलाहरु सामाजिक कार्यक्रममा कमैमात्र सक्रिय भएको आफूले पनि बुझेको भन्दै अहिलेको परिस्थिति भनें फेरिएको बताए । उनले महिलाको हकहितका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजु सुनारले हिजोको दिनमा महिला समूहहरुबीच समन्वय नभएकाले साझा उद्येश्यका लागि समन्वय गर्न यो महासंघ स्थापना भएको बताए । उनले महिलालाई उद्यमसँग जोड्नु आजको आवश्यकता भएकाले सबैलाई आफ्नो ठाउँबाट सक्रियता साथ लाग्नसमेत आग्रह गरे । उनले नगरपालिकामा महिलाहरु निकै सक्रिय भएको भन्दै नगरपालिकामा पुरुषले भनें नेतृत्वको लागि अवसर खोज्नुपर्ने बेला भएको बताए । उनले महिला समूहका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने पनि स्पष्ट पारेका छन् ।