काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नम्बर २ बाट रुक्मिणी सेढाई महासमिति सदस्य बनेकी छिन् । उनी खुल्ला महिलाको तर्फबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् ।
‘मलाई हराउनुपर्छ भनेर ठूलो समूह नै लागेको थियो तर उनीहरुको केही लागेन, सबैको समर्थनले मैले जितेँ’ उनले भनिन् ‘मैले जितेपछि मेरो व्यक्तित्व बढ्छ र त्यो प्रतिष्पर्धामा आफूहरु आउन सकिँदैन भन्ने उनीहरुलाई चिन्ता लागेको होला ।’ सेढाइले आफ्नो जित नुवाकोटको कांग्रेसको मात्र नभएको बताएकी छिन् ।
उनले पार्टीलाई गतिशील बनाउन सधैं लागिरहने दाबी गरेकी छिन् । २०४६ सालदेखि नै राजनीतिमा सक्रिय रहेकी उनी समाजसेवामा पनि संलग्न छिन् । ‘मैले अहिलेसम्म पार्टीबाट केही पाएको थिइन, बल्ल जिम्मेवारी पाएँ अब केही गरेर देखाउँछु’ उनले थपिन् ‘ जसले मविरुद्ध दिनरात हराउने अभियान छेड्यो, उनीहरुलाई पनि म धन्यवाद दिन्छु जसको कारण म अझै खारिएको छु ।’ उनी राजनीतिमात्र नभएर शैक्षिक, धार्मिक, सामाजिक क्षेत्रमा पनि सक्रिय भएर लागेकी छिन् । उनले कतिपय विद्यालयमा लत्ताकपडा त कतिपय विद्यालयमा कापी किताव र ड्रेस पनि बाँडेकी छिन् । उनले आफ्नै पहलमा क्याम्पसमा अक्षय कोष पनि स्थापना गरिदिएकी छिन् ।
पुरानो लिखु गाउँ विकास समिति ३ की उनी अहिले बिदूर नगरपालिका ४ की स्थानीय बासिन्दा हुन् । उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने विदूरसहित, बेलकोटगडी नगरपालिका, तारकेश्वर, मेघाङ र किस्पाङ गाउँपालिकाका पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुप्रति हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गरेकी छिन् । उनी राजनीतिसँगै व्यापार व्यवसायमा पनि संलग्न छिन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्ष र महिला विभाग प्रमुख हुन् । उनी चाहना व्यापार संघको अध्यक्ष र नेपाल व्यापार संघको सचिवसहित विभिन्न संघसंस्थामा आबद्ध रहेकी छिन् ।