काठमाडौं । यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् ।
कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए ।