काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई माओवादीमै फर्कन आग्रह गरेका छन् ।
उनले गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूल बाटोमा स्वागत छ ।’
निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका चन्द अन्ततः चुनावकै बाटोमा फर्किएकोमा खुसी व्यक्त गर्दै पुनले पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।


