काठमाडौं । सत्ता गठबन्धनका सबै नेताले आफ्नो दलबाट मन्त्री हुने सूची प्रधानमन्त्रीलाई बुझाएसँगै आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुलाई मन्त्रीको सूची पठाउन लामो समयदेखि आग्रह गर्दै आएका थिए ।
असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट दिने भनेपनि उनीहरुले नाम दिन सकेका थिएनन् ।
अरु दलबाट मन्त्री बन्नेको सुची आए पनि आफ्नै दल नेपाली कांग्रेसकै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले नाम पठाएका छैनन् । पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारको बाटो खुलेको हो ।
कुन दलले कति मन्त्रालय पाउने भन्ने कुरा यसअघि नै सहमति भइसकेको छ, जसअनुसार कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ ।
पौडेल र सिटौला पक्षको कोटाबाट मन्त्री बन्नेको नाम दिन देउवाले आजसम्मको समयसीमा दिएका छन् । एक नेताका अनुसार उनीहरुको समुहबाट सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रतावित छ ।
माओवादीले यसअघि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाइसकेको छ । अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।
मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।
यस्तै एकीकृत समाजवादीले पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।
यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।