काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर गर्ने कुरामा सत्यता नभएको बताएका छन् ।
मन्त्रीहरुलाई ६ महिना पुगेपछि पाँच मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर अरुलाई पठाउने चर्चा भएमा पनि पार्टी हेरफेर गर्ने पक्षमा नरहेको अध्यक्ष माधवकुमार नेपालले बताएका हुन्।
सोमबार साँखुमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्ने भन्ने गलत हल्ला चलाइएको दाबी गरेका हुन्। अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई भने, ‘बाहिरी हल्लाको पछि नलाग्नुहोस्। मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनु होला। मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि हाम्रा मन्त्रीलाई कर्मचारीले टेर्नै छाडेछन्।’
गत असोज २२ गते समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री छन् ।