हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत नेकपा एमालेका भाग्यमानी मान्छेमध्ये नै पर्छन् । उनी फेरि पनि मेयर हुने दाउमा छन् तर उनको अहिलेको नेतृत्व कमजोर भएकाले उनी फेरि पनि उम्मेदवार भए आफूहरुलाई जित्न गाह्रो पर्ने एमालेका नेताहरुले नै बताउँदै आएका छन् । उनलाई फेरि मेयरमा उठाए समस्या पर्ने स्थानीय नेताहरुले पार्टीका केन्द्रीय नेताहरुलाई अवगत गराइसकेका छन् ।
पार्टीको उपमहानगर समितिले महतसहित २०७० को संविधानसभामा मकवानपुर ३ बाट जितेका एमाले सभासद् अनन्त पौडेलको नाम केन्द्रमा पठाएको छ । अनन्त राजनीतिमा पुराना मान्छे हुन् । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरेका उनी एक पटक मेयर बन्ने अवसर पाए केही गरेर देखाउने बताउछन् । पौडेलको राजनीतिक इमानदारिता र सांगठनिक कुशलताको अरु पार्टीकाले पनि खुलेरै प्रशंसा गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य उनी संविधानसभा सदस्य परिषद्का संयोजक पनि हुन् । तीन पटक जिल्लाको पार्टी प्रमुख, दुई पटक अञ्चल प्रमुख भएका उनले २०४६ र २०६२÷६३ सालको आन्दोलनमा अग्रणी भूमिकामा रहेर आन्दोलनको नेतृत्व गरेको इतिहास अझै पनि मकवानपुरवासीले सम्झिइरहेका छन् । उनी २०४३ सालमा नै पार्टीका नगर सचिव भएका थिए ।
२०५१ सालमा सुकुम्वासी आयोगको जिल्ला अध्यक्ष हुँदा उनले भूमिहीन र अव्यवस्थित वसोवासीहरुको लागि उल्लेखनीय योगदान गरेका थिए । उनले ३२ सयलाई लालपुर्जा दिएको जनाएका छन् । राजनीतिसँगै सामाजिक र विकासका गतिविधिमा सक्रिय उनको मेयरमा उम्मेदवारी परेपछि स्थानीय पनि खुशी भएका छन् । ‘मैले राजनीतिलाई कहिल्यै पनि गलत रुपमा प्रयोग गरेको छैन, त्यही इमानदारिताले आज मैले कसैसँग झुक्नु परेको छैन’ उनले भने ‘उपमहानगरपालिका र उपमहानगरवासीको लागि के के गर्नुपर्छ भन्ने मसँग प्रष्ट दृष्टिकोण छ ।’ उनले हेटौंडा हरेक प्रकारका सम्भावना भएको ठाउँ भएकाले त्यसलाई आफूले चिनेको बताए । उनी संविधानसभामा उपमहानगरपालिका भएको क्षेत्रबाट नै निर्वाचित भएका थिए । उनको उम्मेदवारी पर्ने भएपछि स्थानीयले पनि पौडेलले पार्टीप्रति गरेको लगानी र निष्ठाको सम्मान भएको भन्दै आएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उनले समाज र जनताका लागि सधैं समय खर्च गर्दै आएका छन् ।