काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आज चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।
उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका नेता हुन् ।
भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ ।
गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।
चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।
विशेष गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर सदनमा चर्को बहस र विवाद भएपछि भूराजनीतिक विषयमा सदन पनि प्रत्यक्ष जोडिन थालेको छ । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा सदनको भूमिका बढेको र शक्ति राष्ट्रहरूले पनि यहाँको सदनमा चासो बढाइरहेको विश्लेषण भइरहेको छ । यसै क्रममा चीनको नीति निर्माण गर्ने महत्वपूर्ण थलो राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चान्सु पनि सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउने तय भएको हो ।


