बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका शम्भुबहादुर तिमल्सिनाले आफूलाई जिल्लाका धेरै व्यवयायी/ उद्योगीको साथ रहेकोले यसपालि नेतृत्वमा पुग्ने चाहनाले साकार रुप पाउने धारणा ब्यक्त गरेका छन् । अहिले महासचिव रहेका उनले यस कार्यकालमा गरेका कामबाट नै सबैले आफूलाई सहयोग गर्ने विश्वास लिएको बताए ।
नेपाली कांग्रेस बाह्रबिसे नगर सभापति समेत रहेका तिमल्सिनाले आफूलाई अन्य राजनीतिक दलनिकट रहेका व्यवसाायीहरुको पनि समर्थन रहने बताए । ब्यावसायी/ उद्योगीमैत्री वातावरण निर्माणका लागि आफूले संघ र सरकारबीच पुलको रुपमा काम गर्ने उल्लेख गरे ।
संघमा सबै प्रकारको ब्यावसायीहरुको अपनत्व हुने गरी काम गर्न आफूले कार्ययोजना बनाएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । चुनावको पूर्वसन्ध्यामा आफ्नो एजेण्डा प्रस्तुत गर्दै उनले जिल्लाभर रहेका साना मझौला एवं ठुला व्यापारी/व्यवसायी/उद्योगीहरुलाई आइपर्ने यावत प्रकारका समस्यामा संघले सदैव साथ दिन्छ भन्ने कुराको ग्यारेन्टी गर्ने बताए ।
उनले आफ्नो विशेष प्राथमिकतामा तातोपानी नाका पनि रहेको प्रस्ट्याए । उनले छिमेकी मुलुक चीनको बजारलाई लक्षित गरेर जिल्लामा उत्पादन हुने बस्तुहरुको पहिचान गर्ने बताए । उनले निर्यातको सम्भावना भएका बस्तुहरु उत्पादन गर्न संघले सहकार्य गर्ने वाचा गरे।
संघलाई जिल्लाका सबैको अपनत्व हुनेगरी १२ ओटै पालिकामा शाखा कार्यालय खोल्ने योजना रहेको सुनाए । अहिले बाह्रविसे ,चौतारा र मेलम्चीबाट मात्रै सेवा दिँदै आएकोमा भौगोलिक कठिनाईका कारण धेरै व्यवसायीलाई मर्का परेकाले नै आफूले यसलाई प्राथमिकतामा राखेको उनले बताए । यसका लागि स्थानीय तहहरुसँग आपसी छलफल र समन्वय गरेर जाने सोच रहेको बताए । उनले संघले गर्ने कामका कहिल्यै पनि राजनीति नगर्ने प्रतिवद्धता जनाउँदै आफूले ब्यापारी र उद्योगी एवं उपभोक्तालाई पनि उत्तिकै महत्व दिने बताए ।
अध्यक्षका प्रत्यासी तिमल्सिनाले उद्योग वाणिज्य संघलाई संस्थागत रूपमा थप बलियो र मजबुत बनाउन मौजुदा सदस्यता सम्बन्धी नीति नियमलाई परिमार्जित गरेर एक व्यक्ति एक सदस्यको अवधारण अघि सार्ने बताए । संघ संस्थामा लामो अवधिदेखि निरन्तर काम गरेकाले आफूमा रहेको अनुभवलाई संघको श्रीबृद्धिका लागि खर्चिने मनसाय रहेको बताए ।