काठमाडौं । विश्वकप फाइनलमा अर्जेन्टिना विजयी भएको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि कब्जा गरेको हो ।
कतारमा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको थियो। लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।
त्यसअघि खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए।
तर खेलको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। तर ११८ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याए। जारी विश्वकपमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन्। यसअघि पोर्चुगलका गोन्कालो रामोसले स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका थिए।


