काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफल गर्न आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।
एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।
उनीहरुले प्रदेश सरकारको बजेट असन्तुलित भएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा आफु निकट व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, प्रदेशका १३ जिल्लालाई विभेदपूर्ण रुपमा बजेट वितरण गरेको, कार्यकर्ता पोस्ने गरी बजेटमा टुक्रे योजनाहरु समावेश गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका वृहत प्रकारका योजनाहरु कटौती गरेर आर्थिक भार थप्ने काम गरेको एमालेको आरोप छ ।


