काठमाडौं । चर्चित नेपाली रकगायक रविन तामाङको निधन भएको छ। पारिवारिक स्रोतका अनुसरा गायक तामाङको मंगलबार बेलुका निधन भएको हो।
मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएका रविनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्टसमेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए।
सिंगापुरमा जन्मिएका लाहुरे परिवारका रविनको पछिल्लो फिल्म ‘छड्के–२’ हो। नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ।
सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन्।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए।


