काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपाली कांग्रेस चीनसँग मित्रता बढाउन सदैव प्रतिवद्ध रहेको बताएका छन् ।
विहीबार मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भर्चुअल कुराकानीमा उनले यस्तो बताएका हुन् । भएको थियो। उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए ।
केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए ।
चिनियाँ विदेश विभागका अनुसार लिउले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता दुवै पक्षले सधैं एकअर्कालाई बुझ्ने र समर्थन गर्दै आएका उल्लेख गरे । साथै, उनले छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र आपसी हितको नमुना रहेको बताए ।
उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक भ्रमण गरेको उल्लेख गर्दै त्यसले चीन–नेपाल मैत्री सहयोगको नयाँ अध्याय खुलेको बताएका थिए ।


