काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको शिक्षा क्षेत्रमा सिकाइको अभाव भएको बताएका छन् । उनले शनिबार बूढानीलकण्ठ ८ मा रहेको भ्याली पब्लिक माध्यमिक विद्यालयको समझदारीपत्रमा हस्ताक्षर समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
महामन्त्री थापाले निजी तथा सरकारी दुवैखाले विद्यालयमा शैक्षिक पद्धतिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै विद्यालयले ठूला भौतिक संरचना निर्माण गरेर मात्र नहुने र नयाँ पुस्तालाई फरक ढङ्गले अध्ययन गराउन आवश्यक रहेको धारणा राखे । उनले भने , ‘कक्षामा विद्यार्थी छन् तर राम्रो सिकाइ भएको छैन । कक्षाभित्र कसरी सिक्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ ।’
महामन्त्री थापाले भ्याली पब्लिक विद्यालयको सिकाइलाई अझ प्रभावकारी बनाउन विभिन्न संस्थासँग गरेको सहकार्यले विद्यार्थीको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बूढानीलकण्ठ प्रमुख मीठाराम अधिकारीले देश परिवर्तन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए ।


