काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) मा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत् ईभीमा करका दर बढाएका हुन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा २० प्रतिशत कर तोकिएको छ । जसमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत छ ।
५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत गरी ३५ प्रतिशत कर कायम गरिएको छ । १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तोकिएको छ ।
यस्तै २०० देखि ३०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत कायम गरिएको छ । ३०० किलोवाटभन्दा बढी क्षमताका ईभीमा भन्सार शुल्क ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत तोकिएको छ ।