काठमाडौं । भोटेकोसी गाउँपालिका-४ मा निर्माणाधिन ४० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना–१ को स्ल्याब ढलान भासिँदा २ जना मजदुरको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा गरिएको भए पनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबारा नगरपालिका-३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा-५ का ३० वर्षीय सुमन थारु छन्।
घटनामा १० जना मजदुर घाइते भएका उनले बताए। घाइतेलाई उद्धार गरी उपचारका लागि बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पतालमा भर्ना गरिएको छ।
गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा भर्ना गरिएको छ । घाइते हुनेहरुमा लहानु थारु, दुर्गा चौधरी, आइतमान थामी, आइतबहादुर थामी, विजय थामी, दिपक थामी, पदमबहादुर थामी, सासन रोका मगर, गोपाल थामी र रामचन्द्र रिमाल रहेका छन् ।
आयोजनाले स्थानीयवासीको माग सम्बोधन नगरेर जबरजस्ती काम अगाडि बढाएको भन्दै लामो समयदेखि आन्दोलनमा छन् । उक्त आयोजना झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ ।