काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता नतिरेका ३४ उद्योगको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्ने पत्राचार ती कम्पनीमा गरेको छ ।
यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्राधिकरणले पत्र पठाएको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फ शेयर जारी गर्ने इजाजत रोकिदिन पत्राचार गरेको छ ।


