काठमाडौं । समय नपुगीकन कर्मचारीलाई सरुवा गरेको भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिएका छन् ।
उनले सहरी विकास मन्त्रालयले समय नपुगि कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मंसिर १७ गतेदेखि आजसम्म निरन्तर रुपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।
बिज्ञापन
उनले भने, ‘मंसिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगिकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरु फेरेर विकासको काम गर्नुपर्ने ठाँउमा कर्मचारीलाई उथलपुथल तलकाथि पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ ।’
निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरित गरिएका, सरुवाहरु बदर गर्नुपर्ने पनि उनको माग रहेको छ ।
उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु । कर्मचारीहरुलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरित गरिएका, अवधि नपुगि गरेका सरुवाहरु बदर गर्नुपर्छ ।’


