काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गरेका छन्।
उनले मंगलबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उपसचिवभन्दा माथिका कर्मचारीको अवकाश उमेर ६५ र उपसचिवभन्दा तलका कर्मचारीको अवकाश उमेर ६२ वर्ष कायम गर्न प्रस्ताव गरे।
नेता भट्टराईले निजामती सेवाबाट अवकाशलगत्तै अन्य नियुक्तिका लागि न्यूनतम् दुई वर्ष ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्नेमा जोड दिए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि संसद्मा प्रस्तुत सो विधेयक सङ्घीय निजामती प्रशासनको प्रस्थान बिन्दु भएको उल्लेख गर्दै उनले सङ्घीय प्रणालीअनुसार निजामती सेवामा पनि बदलाव आउनुपर्ने बताए।
