काठमाडौं । नेपाल एपीएफ अस्पतालले विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको छ । अस्पतालले विपद् र आकस्मिक अवस्थामा ‘ अनुकरणीय सहयोग पुर्याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई सम्मान गरेको हो ।
अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा. बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गरेका थिए ।
सो अवसरमा यसवर्षको ‘आइजी एपीएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायब उपरीक्षकत्रय उमेश कँडेल, डा. आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपीएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ‘नेपाल एपीएफ अस्पताल’मा थप पूर्वाधार, जनशक्ति र उपकरण विस्तार गर्दै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उत्कृष्ट स्थल बनाइने जानकारी दिए ।
नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा.रूपक महर्जनले अस्पतालको शय्या ३०० स्वीकृत भएको र यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनकार्य प्रारम्भ भइसकेको बताए ।


