बाह्रबिसे । शुक्रबारबाट कोदारी जंगलमा लागेको आगो सोमबार बिहानबाट केही नियन्त्रणमा आएको छ । भोटेकोशी गाउँपालिका २ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार अहिले (करीब बिहान ११ बजे) सम्म) आगलागी भएको जंगलमा खासै धुवाँ देखिएको छैन । उनले भने, ‘म केही समयअघि मात्रै माथि गएर आगलागी भएको ठाउँमा हेरेर आएको हुँ राङबुसा गाउँ भन्दा धेरै माथि जंगलमा सामान्य धुवाँ मात्रै देखिएको छ। ’
उनले हिजोसम्म डढेलोले तातोपानीको विकट राङबुसा उच्च जोखिममा भए पनि हेलिकोप्टरले दिनभर पानी खन्याएपछि अहिले उक्त गाउँमा कुनै जोखिम नभएको बताए । डढेलो बस्ती पस्ने जोखिम भएपछि भोटेकोशी गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर ५४ पटकसम्म पानी खन्याएको थियो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको टनेल बाहिरको संरचनामा शुक्रबार एक्कासी तारमा करेन्ट सर्ट भएपछि आगो लाग्न थालेको हो । डढेलो कम भएकै कारण आज हेलिकोप्टर काठमाडौंबाट बोलाएर पनि फिर्ता गरेको उनले बताए । राङबुसा गाउँमा थामी र तामाङ समुदायका मानिसहरुको बसोबास रहेको छ ।


