बाह्रबिसे । भन्सार नाकामा खटिएका सुरक्षाकर्मीको मुख्य काम नै अबैध चोरी पैठारी रोक्नु हो । यही कामका लागि अहिले भन्सार नाकामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु खटिने गरेका छन् । तातोपानी नाकामा पनि सशस्त्र प्रहरी निरीक्षक भीष्म सापकोटाको कमाण्डमा झण्डै तीन दर्जनजति सुरक्षाकर्मी तैनाथ छन् । यसरी भन्सार छली नियन्त्रण गर्ने जिम्मेवारी पाएका इन्स्पेक्टर सापकोटा नै भन्सारका कर्मचारीसँग मिलोमतो गरेर कमाउ धन्दामा लागेको स्थानीयले बताएका छन् ।
२०७२ सालको भूकम्पपछि तातोपानी भन्सार कार्यालय सीमा नाकाभन्दा ४ किलोमिटर तल लार्चामा अवस्थित छ । मुख्य भन्सार कार्यालय लार्चामै रहे पनि स्थानीयलाई घरयासी प्रयोजनका लागि भनेर ५ हजारसम्मका सामानको भन्सार तिर्न नेपाल चीन नाका लिपिङमै भन्सार कार्यालयको ब्यवस्था छ । यस कार्यालयमा तातापानी भन्सारले प्रत्येक हप्ता आलोपालो कर्मचारी खटाउने गरेको छ ।
इन्स्पेक्टर भीष्मको कार्यालय यही भए पनि उनी प्रायः दिनभर नाकामै बस्ने गरेका छन् । उनले छोटी भन्सारमा बस्ने कर्मचारीहरुसँग मिलोमतो गर्ने गरेको स्थानीयको आरोप छ । यहाँबाट ब्यापारीहरुले मुख्यगरी घिउ, छुर्पी, जूस, पेयपदार्थ चियापत्ती चम्पा पिठो चकलेटका आइटम, केक,अचार, बिस्कुट भन्सार छलेर ल्याउने गरेका छन् । यस नाकामा घरयासी प्रयोजनका लागि एकजना ब्यक्तिले ५ हजारसम्मका सामान मात्रै ल्याउन मिल्ने भए पनि त्यहाँ खटिएका भन्सारका कर्मचारी र सशस्त्रको मिलोमतोमा दैनिक लाखौं बराबरको भन्सार छली भइरहेको उनीहरुको आरोप छ । इन्स्पेक्टर भीष्मले दिनहुँ कम्तिमा पनि ५ जनाभन्दा बढी स्टाफलाई पारि पठाएर त्यस्ता सामान ल्याउन लगाउने गरेको स्थानीयको भनाइ छ । उनले सेटिङबाट आएकालाई सहजै आउन दिने र अरुलाई भने बिल माग्ने गरेको उनीहरुको आरोप छ । यसरी भन्सार छलेर ल्याएका त्यस्ता सामान लिपिङका गोदाममा राखी डिआइ, बोलेरो जस्ता गाडीमा काठमाडौं भित्र्याउने र ती सामानहरु प्रायः गरेर बौद्ध क्षेत्रमा बिक्रि गरिने बुझिएको छ । यसरी भन्सार छलेर सामान ल्याउने समूहले भन्सारका कर्मचारी र कमाण्डर सापकोटालाई मासिक रुपमा कमिसन भन्दै महिनावारी बुझाउने गरेको उनीहरुको आरोप छ । उनीहरुले अरु केही ब्यवसाय नभएका आफूहरुले जिविकोपार्जनकै लागि ल्याएका सामान भने जबरजस्ती गरेर नियन्त्रणमा लिने तर केही स्थानीय तस्करीमा संलग्न ब्यापारीको प्रलोभनमा परी सशस्त्र प्रहरीका हाकिम नै खुल्लमखुल्ला भन्सार छली गर्ने भन्दै विरोधमा उत्रिएका थिए ।
आफू संगठनको इमान्दार कर्मचारी हुँ भन्दै हिड्ने सापकोटाले सामान्य झोलेपोके ब्यापारीलाई भने आमचकारी गाली गर्ने गरेको उनीहरुको आरोप छ । भन्सार छलेर ल्याइएको सामान नियन्त्रणमा लिने अधिकार भए पनि तथानाम गाली गर्ने गरेको उनीहरुको गुनासो छ । यसका साथै सापकोटाले त्यस भेगमा सञ्चालित हाइड्रोपावरबाट समेत मासिक नजराना बुझ्ने गरेको गुनासो छ । उनको चीनबाट ठूलो परिणाममा सामान आयात गर्ने ब्यापारिक फर्मका साहूसँग उठबस गर्ने, नाकाबाट सामान ल्याउने ठूला ट्रान्सपोर्टका एजेन्टहरुसँग हिमचिम रहेको बताइएको छ। यसका साथै भोटेकोशी गाउँपालिकाबाट समेत कुपन लिने गरेको स्थानीयको आरोप छ । इन्सपेक्टर सापकोटासँग यस विषयमा बुझ्दा उनले आफूले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको आफूमाथि स्थानीयले लगाएको आरोप मित्थ्या भएको प्रतिकृया दिए ।