अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले नयाँ निजामती सेवा ऐनमा आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । संघले कही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा यस्तो माग गरेको हो । संघले हालसम्म सिंहदरबारमा रहेका सबै मन्त्रालयका सचिवलाई भेटेर आफूहरुमाथि अहिले चरम शोषण भएको गुनासो गरिसकेको छ । संघका अध्यक्ष काशीराज श्रेष्ठले बुझाएको पत्रमा आहिले राज्यले अस्थायी करार ज्यालादारी कर्मचारीमाथि चरम विभेद भएको उल्लेख गरिएको छ ।
यस्ता छन् संघका मागहरु
नेपाल सरकार मातहत (संघ प्रदेश र स्थानीय तह) सबै कार्यालयहरुमा कार्यरत सम्पूर्ण अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको रोजगारी ग्यारेन्टी गरिनुपर्ने ,०५६/०५७ सालदेखि लोकसेवा आयोगबाट स्थायी प्रकृया बन्द भएको श्रेणीविहीन पदहरुमा निजामती सेवा ऐन संशोधन गरी लोकसेवा प्रकृया पुर्याएर सम्पूर्ण अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुलाई उमेर हदबन्दी नलाग्ने गरी एकपटकको लागि स्वतः स्थायी गर्ने ब्यबस्था मिलाइनुपर्ने, स्थायी हुन नसकेको हकमा राज्यलाई सेवा गरे बापत उचित रकम गोल्डेन हेन्डचेकको वयवस्था सहित अवकास हुने ब्यवस्था मिलाइनुपर्ने रहेका छन् ।
यसका साथै सम्मानित सर्बोच्च अदालतको २०७० /१०/०९ को निर्देशनात्मक आदेश, मन्त्रिपरिषद २०७४/०१/२१ को निर्णय र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार हाल कार्यरत सम्पूर्ण करार ज्यालादारी सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनुपर्ने, नेपाल सरकार मातहतका कार्यालयहरुमा कार्यरत सम्पूर्ण करार ज्यालादारी कर्मचारीलाई स्थायी कर्मचारी सरह भत्ता उपलब्त्र गराइनपर्ने, अस्थायी करार ज्यालादारी कर्मचारीको हकमा जटिल प्रकृतिका बिरामी हुँदा बिरामी बिदा साथै बिमाको ब्यवस्था गरिनुपर्ने, नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हलाक सेवा विभाग अन्तर्गत देशैभरका कार्यालयहरुमा दरबन्दी कटौती गरी ८ सय हाराहारी कर्मचारी बेरोजगारी भएको हुँदा तत्काल छलफल गरी रोजगारीमा पुनर्बहाली गरी रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, साथै रोजगारीको ब्यवस्थापन हुन नसकेको खण्डमा उपदान स्वरुप उचित रकम गोल्डने हेन्डचेकको ब्यवस्था सहित अवकाश हुने ब्यवस्था मिलाइदिनुपर्ने लगायतका छन् ।
सघले हाल यस्ता कर्मचारीहरु ३५ हजारको हाराहारीमा रहेको जनाएको छ । जसमा संघमा करिब १४ हजार प्रदेशमा ७ हजार र स्थानीय तहरमा ८ हजार रहेका छन् । यस्ता कर्मचारीहरुमा प्राय: कुचीकार कार्यालय सहयोगी र ड्राइभर रहेका छन् ।


