काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा हेलम्बु गाउँपालिका वडा नं. ४ मा अवस्थित ईष्ट पोइन्ट एकेडेमीले वातावरण संरक्षणको सन्देश फैलाउँदै वृक्षारोपण तथा सचेतनामूलक र्यालीको आयोजना गरेको छ।
विद्यालयका शिक्षक-शिक्षिका तथा सम्पूर्ण विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय परिसरमै विविध जातका फलफूल तथा बिरुवा रोपिएको थियोे । बालबालिकाले आफ्नै हातले माटो तयार गरी बिरुवा रोप्दा अनुहारमा देखिएको उत्साह अत्यन्तै प्रेरणादायी थियो।
कार्यक्रमको विशेष आकर्षण वातावरणीय र्याली रह्यो, जसमा विद्यार्थीहरूले हरियालीका सन्देश बोकेका प्लेकार्डहरू, पोस्टर र नाराहरू प्रदर्शन गर्दै विद्यालयबाट सुरु गरी चनौटे बजार वरिपरि परिक्रमा गरी पुनः विद्यालय फर्किए। र्यालीले वातावरण संरक्षणप्रति चेतना जगाउने उद्देश्य बोकेको थियो।
ईष्ट पोइन्ट एकेडेमीले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले शिक्षाको माध्यमबाट जीवन र प्रकृतिबीचको सम्बन्धको बारेमा जानकार हुने विद्यालयका प्रधानाध्यापक दामोदर भारतीले जानकारी दिए ।