काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् ।
विधेयकबाट ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश नहटाए विद्यालय बन्द गर्ने उनीहरूको चेतावनी छ । निजी विद्यालयहरूका ४ छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा आफ्ना मागविपरीतका ५ बुँदा नहटाए आन्दोलन गर्ने घोषणा गरेका छन् । जसअन्तर्गत ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना (उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने), कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग राखेका छन् ।