काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलले आफूलाई काठमाडौं जिल्ला प्रशासनले माइतीघर मण्डलामा शान्तिपूर्ण सत्याग्रह बस्न नदिएको गुनासो गरेका छन् । सोमबार बिहान १० बजेदेखि धर्ना बस्न लागेका पोखरेललाई प्रशासनको अनुमति चाहिने भन्दै प्रहरीले फर्काइदिएको थियो ।
धर्ना बस्न नदिएपछि आफ्नो संवैधानिक हक हनन भएको भन्दै संयोजक पोखरेलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडलको कार्यकक्षमा पुगेर शान्तिपूर्वक सत्याग्रह गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
प्रजिअ पौडेलले सुरक्षा समितिको बैठक बसेर मात्र अनुमति दिने नदिनेबारे निर्णय हुने भन्दै पन्छिएको पोखरेलले बताए ।
उनले भने,‘हामीले शान्तिपूर्ण सत्याग्रह बस्न खोज्दा सिडिओले तानासाही शैली देखाएर नागरिकको मौलिक हक खोस्ने प्रयास गरे। यो लोकतन्त्रको अपमान हो ।’
सत्याग्रह गर्न नदिएको विरोधमा अभियानले भोलिबाट सिंहदरबार र गृह मन्त्रालयमा शृङ्खलाबद्ध विरोध र प्रचार–प्रसार गर्ने अभियानले जनाएको छ ।
उनले मुख्यगरी प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संघीय निजामती सेवा ऐन सरकारलाई अध्यादेशमार्फत भए पनि ल्याउन माग गरेका छन् । यसमा साथै उक्त ऐनमा दलगत कर्मचारी ट्रेड युनियन खारेज हुनुपर्ने कुलिङ अवधि हटाउने, १४ वर्षे सेवापछि तल्लो तहबाट खुला पदमा बढुवाको व्यवस्था गर्नुपर्ने चक्रीय र पारदर्शी सरुवा प्रणाली तत्काल लागू गर्न माग गरिएको छ ।


