काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पार्टी छाड्नेहरूको लर्को नै लागेको छ।
यसैक्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा) भोजपुर जिल्ला समितिसँग आबद्ध केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले विभिन्न राजनीतिक कारण देखाउँदै पार्टी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।
विभिन्न प्रदेश तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले पार्टी परित्याग गरेका छन्। बागमती प्रदेशअन्तर्गत तामसालिङ राष्ट्रिय समितिका रामेछाप जिल्लाका संस्थापक केन्द्रीय सदस्य सिंहबहादुर तामाङले पार्टी छाडेको घोषणा गरेका छन्।
त्यसैगरी, केन्द्रीय सदस्य बम दर्लामी मगर, धादिङ जिल्लाकी केन्द्रीय सदस्य चंचला पराजुली ९परियार० — दलित समुदायकी प्रतिनिधि, ललितपुरका केन्द्रीय सदस्य दीपक दोर्जे लामा, गण्डकी प्रदेशका केन्द्रीय सदस्य देव दुरा तथा बागमती प्रदेशका अध्यक्ष तथा मुख्य सचिबले समेत पार्टी परित्याग गरेका छन्।
उनीहरूले पार्टीभित्र बढ्दो राजनीतिक असहमति, संगठनात्मक कमजोरी, विधानविपरीतका गतिविधि तथा नेतृत्वप्रति गहिरो असन्तुष्टिका कारण पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। पार्टी परित्यागसँगै अब जसपासँग कुनै पनि प्रकारको राजनीतिक सम्बन्ध नरहने उनीहरूले स्पष्ट पारेका छन्।
यस घटनाले जसपा नेपालको संगठनात्मक संरचनामा गम्भीर असर पर्ने देखिएको छ भने प्रदेश तथा स्थानीय तहको राजनीतिमा नयाँ राजनीतिक समीकरणको सम्भावना समेत बढेको छ।
यसैबीच, कोशी प्रदेशका दलित अभियन्ता तथा केन्द्रीय सदस्य प्रदीप घतानीले पनि पार्टी परित्याग गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः विभाजन समेत भएको छ। पार्टीको महाधिवेशनमा महासचिव पदका उम्मेदवार रहेका अशोक यादवको नेतृत्वमा जसपा नेपालबाट अलग भई ‘जनता लोकतान्त्रिक पार्टी’ (जलोपा) दर्ता गरिएको छ। उक्त दलले निर्वाचन आयोगबाट ‘भैँसी’ चुनाव चिन्ह समेत प्राप्त गरिसकेको छ।पार्टीभित्र विधानविपरीत कार्य हुने, अयोग्य व्यक्तिलाई जिम्मेवारी दिने जस्ता गम्भीर आरोपहरू पनि सार्वजनिक रूपमा लगाइएको छ।
त्यसैगरी, जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका विकास तिवारी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
कोशि प्रदेशअन्तर्गत भोजपुर क्षेत्र, जहाँ जसपा नेपालको शीर्ष नेतृत्वको प्रभाव रहेको मानिन्छ, त्यहाँ पनि पार्टी कमजोर बन्दै गएको संकेत देखिएको छ। उक्त क्षेत्र सहअध्यक्ष रकम चेम्जोङ, केन्द्रीय सचिव राजकुमार राई तथा केन्द्रीय सचिव एवं संगठन विभागका उपप्रमुख लाक्पा शेर्पाको राजनीतिक क्षेत्रका रूपमा चिनिन्छ।


