काठमाडौं । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे पनि समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गनिर्देश तय गरेको छ।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले संचालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निर्णय पनि गरेको छ।


