काठमाडौं । दलित समुदायमाथि हुने जातीय भेदभाव एवं छुवाछूत पूर्ण रूपमा अन्त्य गरिनुपर्नेमा अधिकारकर्मी तथा अगुवाले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको ध्यानाकर्षणसभामा उनीहरूले अझै पनि जातीय भेदभाव कायमै रहेको बताए । उनीहरूले समान हक र अवसरसहितको समाजवादको आधार निर्माणका निम्ति संविधान संशोधन गरिनुपर्ने माग राखेका छन् ।
ध्यानाकर्षणसभामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले देश परिवर्तनको बाटोमा अघि बढेका बेला पछाडि परेका समुदायलाई प्राथमिकतामा राखिनुपर्ने बताए ।


