काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ ।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


